शिक्षामन्त्री सस्मित पोखरेलको सम्पत्ति २४ करोडभन्दा बढी, ऋण ७५ लाख
प्रकाशित मिति
२०८२ चैत्र २९ गते, आईतवार ०९:४३
२९ चैत,२०८२ काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्री पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ रहेको छ भने ७५ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ।
विवरण अनुसार, काठमाडौँमा ३ आना क्षेत्रफलमा बनेको अढाई तले घर रहेको छ, जसको मूल्य करिब ४ करोड रुपैयाँ छ। यस्तै, मूलपानीमा ५ करोड मूल्य बराबरको ६ आना जग्गा र मोरङमा १ करोड पर्ने १ कठ्ठा जग्गा रहेको छ।
परिवारको नाममा पनि उल्लेख्य सम्पत्ति देखिएको छ। बुवा रमेश कुमार पोखरेलको नाममा काठमाडौँमा साढे २ करोड पर्ने ४ आना २ पैसा जग्गा तथा आमा मिनाक्षी पोखरेलको नाममा गोदावरीमा डेढ करोड पर्ने १ रोपनी १४ आना २ पैसा जग्गा रहेको छ। साथै, गोकर्णेश्वरमा डेढ करोड बराबरको जग्गा र गोदावरीमै ५ करोड पर्ने ११ रोपनी ४ आना जग्गा रहेको विवरणमा उल्लेख छ।
गहनातर्फ मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको मूल्य करिब ७५ लाख रुपैयाँ छ। नगद २५ हजार रुपैयाँ रहेको छ भने बैंक मौज्दातमा सानिमा बैंकमा २ लाख ४८ हजार र एनआईसी एसिया बैंकमा करिब २ लाख रुपैयाँ रहेको छ।
लगानीतर्फ विभिन्न कम्पनीमा १ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ। सवारी साधनतर्फ मन्त्री पोखरेलको नाममा ३९ लाख ६५ हजार रुपैयाँको कार तथा उनका बुवाको नाममा ७० लाख रुपैयाँ पर्ने कार रहेको छ।








प्रतिकृया