उपसभामुख चयन प्रक्रिया आजबाट सुरु, शुक्रबार निर्वाचन हुने
प्रकाशित मिति
२०८२ चैत्र २६ गते, बिहीबार ०८:५४
२६ चैत,२०८२ काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी दर्ता गरिनेछ। निर्धारित समयअनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ। प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वारा जारी सूचनामा दर्ता भएका उम्मेदवारहरूको नामावली आजै दिउँसो २:३० बजे प्रकाशन गरिने उल्लेख छ।
उपसभामुखको निर्वाचन भने शुक्रबारका लागि तय गरिएको छ। सभामुख डिपी अर्यालले तोकेको मितिअनुसार शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निर्वाचन प्रक्रिया सम्पन्न गरिनेछ। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधान रहेको छ। हाल सभामुख पुरुष रहेकाले उपसभामुख पदमा महिला चयन हुने निश्चित जस्तै देखिएको छ।
प्रतिनिधिसभामा दलहरूको अंकगणित हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन निर्णायक हुने देखिन्छ। त्यसैले विपक्षी दलहरूबीच उपसभामुख पदका लागि प्रतिस्पर्धा रोचक बन्ने अपेक्षा गरिएको छ।






प्रतिकृया