पाटनमा छुरा प्रहारबाट घाइते दाजुभाइको मृत्यु, दुई जना पक्राउ
प्रकाशित मिति
२०८२ चैत्र २६ गते, बिहीबार ०९:०८
२६ चैत,२०८२ ललितपुर — ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई ललितपुरको इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन्।
गत चैत २५ गते साँझ उनीहरूमाथि छुरा प्रहार भएको थियो। गम्भीर घाइते दुवैजनालाई उपचारका लागि बिएण्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।

प्रहरीका अनुसार दुई पक्षबीच भएको विवादका क्रममा छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–९ भोलटोल बस्ने ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासी गैँडाकोट घर भई ललितपुरको सुबहाल बस्ने २१ वर्षीय गगन सुनारलाई पक्राउ गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।




प्रतिकृया