आज ७५औँ प्रजातन्त्र दिवस : सार्वजनिक बिदा
प्रकाशित मिति
२०८२ फाल्गुन ७ गते, बिहीबार ०८:५२
७ फाल्गुन, २०८२ काठमाडौं – आज नेपालमा ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ। विसं २००७ साल फागुन ७ गते निरंकुश राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायत महान् सहिदहरूले जीवन उत्सर्ग गरेका थिए। उनीहरूको बलिदानीपूर्ण संघर्षकै बलमा देशमा प्रजातन्त्रको प्रादुर्भाव भएको मानिन्छ।

प्रजातन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्। मूल समारोह समितिको आयोजनामा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ, जसमा रामचन्द्र पौडेलको सहभागिता रहनेछ।

यसै अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन्। उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
राष्ट्रपति पौडेलका अनुसार विसं २००७ को क्रान्ति संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा वर्तमान संविधान निर्माणको महत्वपूर्ण आधार बनेको ऐतिहासिक घटना हो। सहिदहरूको बलिदान र जनताको लामो संघर्षबाट स्थापित ‘सार्वभौमसत्ता जनतामा निहित रहने’ मान्यतालाई यो दिवसले सदैव स्मरण गराउने विश्वास पनि उनले व्यक्त गरेका छन्।




प्रतिकृया