भरतपुर महानगरका पूर्व वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध ६ करोड ७८ लाख भ्रष्टाचार मुद्दा
प्रकाशित मिति
२०८२ माघ १३ गते, मंगलवार ०३:१०
१३ माघ,२०८२ काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
आयोगका अनुसार आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको रकमबाट श्रीमती लिली सुवेदीको नाममा समेत विभिन्न सम्पत्ति खरिद गरेको पाइएको छ । गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुवेदीलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

आयोगले आचार्य र उनका एकाघर परिवारका सदस्यहरूले वैधानिक रूपमा ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ मात्र आय आर्जन गरेको देखिएको जनाएको छ । तर आय, व्यय तथा बैंक मौज्दातको मूल्यांकन गर्दा स्रोत पुष्टि हुन नसक्ने गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्ति अस्वाभाविक रूपमा बढी देखिएको आयोगको ठहर छ ।

वैधानिक आयभन्दा कूल व्यय अत्यधिक देखिनु र त्यसको स्रोत खुल्न नसकेपछि आचार्य र सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ ।




प्रतिकृया