काठमाडौंसहित देशैभर जाडो बढ्यो, उपत्यकामा यस वर्षकै कम तापक्रम
प्रकाशित मिति
२०८२ पुष २१ गते, सोमबार ०९:२१
२१ पुस,२०८२ काठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा जाडो बढेको छ । काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन भएको हो ।
मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.७ डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागले जनाएको छ ।

बढ्दो चिसोका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक काममा बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका अनुसार जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरूको तुलनामा बढी समस्या हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।

मौसमविद्हरूले आगामी केही दिनसम्म चिसो यथावत् रहने सम्भावना रहेको जनाउँदै तातो कपडा प्रयोग गर्न, बिहान–साँझ आवश्यक सतर्कता अपनाउन र स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिन आग्रह गरेका छन् ।




प्रतिकृया