बारा यात्रा अवरुद्ध, महेश बस्नेतः हामी अवरोधले विचलित हुँदैनौँ
प्रकाशित मिति
२०८२ मंसिर ३ गते, बुधबार ०२:०५
मंसिर ३, २०८२ काठमाडौं— नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले बाराको सिमरा जाने क्रममा अवरोध भएको घटनाबारे विचलित नभएको बताएका छन्। उनीसहित एमालेका महासचिव शंकर पोखरेल र जनवर्गीय संगठनका प्रमुख भानुभक्त ढकाल आज सिमरा जाने तय भएको थियो।
उनीहरू बुद्ध एयरको जहाजमा बसेको अवस्थामा, सिमरामा ‘जेनजी’ पुस्ताका केही व्यक्तिहरूले आन्दोलन गरेपछि एयरपोर्टमा तनाव उत्पन्न भएको थियो। यस कारण बुद्ध एयरले उडान रद्द गरेको छ। हाल सिमराको अवस्था तनावग्रस्त छ र प्रशासनले कर्फ्यु पनि लगाएको छ।
महेश बस्नेतले फेशबुकमार्फत आफ्नो धारणा व्यक्त गर्दै भनेका छन्, “राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा सिमरा जान लाग्दा ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो। सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ।”
बस्नेतले थपे, “हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।”






प्रतिकृया