बागमती प्रदेशमा पूर्वाधार विकासदेखि कृषि र रोजगारीसम्म चुनौती, तर सम्भावना पनि उच्च : राष्ट्र बैंक
प्रकाशित मिति
२०८२ कार्तिक २६ गते, बुधबार ०९:४८
कात्तिक २६, २०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा बागमती प्रदेशमा भौतिक पूर्वाधार, कृषि, रोजगारी र वातावरणीय सन्तुलनका क्षेत्रमा चुनौतीपूर्ण अवस्था देखिएको छ। तर, यस प्रदेशमा पर्यटन, जलविद्युत्, कृषि व्यवसायीकरण र सूचना प्रविधिबाट दिगो आर्थिक वृद्धि हासिल गर्ने उच्च सम्भावना पनि रहेको उल्लेख गरिएको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार सडकमार्ग, स्वास्थ्य सेवा, खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त बस्ती विकास र उचित व्यवस्थापनका कार्य चुनौतीपूर्ण छन्।
अध्ययनले भनेको छ, “शिक्षामा गुणात्मक विकास गर्ने कार्य तथा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुका साथै सहज पहुँच विस्तार गर्ने कार्य चुनौतीपूर्ण रहेको छ।”
प्राकृतिक जोखिम र कृषि क्षेत्रको दबाब
बागमती प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको र त्यसका प्रभाव न्यूनिकरण चुनौतीपूर्ण रहेको अध्ययनमा उल्लेख छ। सहरी क्षेत्रको तीव्र जनसंख्या वृद्धिले कृषियोग्य जमिन घट्दै गएको र पहाडी क्षेत्रमा बसाइँसराइका कारण खेतबारी बाँझो बन्ने प्रवृत्ति बढेको पनि देखाइएको छ।
अध्ययनका अनुसार, जलवायु परिवर्तनका कारण कृषि, जलविद्युत्, पूर्वाधार, उद्योग र सेवाक्षेत्रमा पर्ने असर घटाउँदै दिगो विकासका लागि आवश्यक लगानी बढाउनुपर्ने आवश्यकता रहेको छ। कृषिमा आश्रित जनसंख्या धेरै भए पनि पूर्णकालीन रोजगारी सिर्जना गर्न कठिन भएको केन्द्रीय बैंकको निष्कर्ष छ।
औद्योगिक लगानीमा चुनौती
उपत्यका र आसपासका क्षेत्रमा जग्गाको मूल्य अत्यधिक बढेकाले उद्योग स्थापनाका लागि निजी क्षेत्रले महँगो दरमा जग्गा लिजमा लिनुपर्ने अवस्था रहेको उल्लेख छ। त्यसका कारण उत्पादन लागत बढ्दै प्रतिस्पर्धात्मक मूल्यमा वस्तु तथा सेवा उत्पादन गर्न कठिनाइ भएको अध्ययनले औंल्याएको छ।
उच्च सम्भावनाका क्षेत्रहरू
बागमती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुरजस्ता ऐतिहासिक सहरहरूले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्न ठूलो भूमिका खेल्न सक्ने अध्ययनले देखाएको छ। नेपालकै सबैभन्दा व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यसै प्रदेशमा रहेको र पर्याप्त पर्यटकीय पूर्वाधारका कारण छिट्टै आर्थिक विकास सम्भव रहेको पनि निष्कर्ष छ।
पर्यटन, कृषि, जलविद्युत् र व्यापार क्षेत्रमा भएको लगानीबाट रोजगारी र आर्थिक वृद्धि हासिल गर्ने उच्च सम्भावना रहेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ। सूचना प्रविधि र बढ्दो सञ्जालीकरणले दिगो आर्थिक वृद्धिलाई थप बल दिने निष्कर्ष पनि निकालिएको छ।
जलविद्युत् र कृषि क्षेत्रका अवसर
बागमती प्रदेशका उच्च बहावयुक्त नदीहरूबाट जलविद्युत् उत्पादनमा ठूलो सम्भावना रहेको छ। कृषि क्षेत्रमा नवीनतम प्रविधि, गुणस्तरीय बिउ बीजन र प्राविधिक सहजीकरणको प्रयोग गरी व्यावसायीकरण गर्न सकिने र जडिबुटी खेतीबाट कृषकको आयआर्जन बढाउन सकिने अध्ययनले देखाएको छ।
त्यस्तै, कृषिजन्य उत्पादनहरूलाई अन्तिम वस्तुका रूपमा प्रशोधन गर्ने उद्योग स्थापना गरी बहुआयामिक लाभ लिन सकिने सम्भावना पनि अध्ययनमा समावेश छ।
आर्थिक वृद्धि र उत्पादन संरचना
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने अनुमान गरिएको छ। गत वर्ष यो दर ३.७ प्रतिशत मात्र थियो। सो वर्ष प्रदेशको कुल गार्हस्थ्य उत्पादन (GDP) प्रचलित मूल्यमा २२ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ पुग्ने अनुमान छ।
कुल GDP मा कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत, उद्योग क्षेत्रको ११.१ प्रतिशत र सेवा क्षेत्रको ७७.१ प्रतिशत रहने अनुमान गरिएको छ। मुलुकको समग्र GDP मा बागमती प्रदेशको योगदान कृषि क्षेत्रमा १७.१ प्रतिशत, उद्योग क्षेत्रमा ३१.७ प्रतिशत र सेवा क्षेत्रमा ४५.४ प्रतिशत रहनेछ।
थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा यस प्रदेशको प्रमुख आर्थिक गतिविधि बनेको छ। त्यसपछि घरजग्गा कारोबार (१५.२%), कृषि, वन तथा मत्स्यपालन (११.८%), वित्तीय तथा बीमा (११.२%), यातायात तथा भण्डारण (९.३%) र उत्पादनमूलक उद्योग (४.९%) काे अंश रहेको छ।








प्रतिकृया