विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
प्रकाशित मिति
२०८२ कार्तिक २६ गते, बुधबार १०:१०
कात्तिक २६, २०८२ काठमाडौं— नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ। पार्टी महासचिव विप्लव ‘सी’को नाममा मंगलबार जारी विज्ञप्तिमा हालको राजनीतिक परिवेश र दलहरूको पुनर्संरचनाका कारण मोर्चामा रहिरहनुको औचित्य समाप्त भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामा व्यापक परिवर्तन आएको छ। सबै राजनीतिक पार्टीहरू नयाँ किसिमका एकता र मोर्चाबन्दीमा सहभागी हुँदैछन्। व्यापक स्तरमा नयाँ बहस आवश्यक बनेको छ।”
विप्लवले उल्लेख गरेका छन् कि हाल समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू एकीकृत भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन्। यस्तो अवस्थामा मोर्चाको वर्तमान स्वरूपले राजनीतिक औचित्य गुमाएको जनाउँदै विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चाबाट अलग हुने निर्णय गरेको हो।
सन् २०८० सालमा चार दलको सहभागितामा बनेको समाजवादी मोर्चा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण, जनजीविकाको पक्षमा आवाज उठाउने र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ गठन गरिएको थियो।
विप्लवले मोर्चाले केही महत्वपूर्ण कार्यक्रम सञ्चालन गरे पनि अहिलेको राजनीतिक परिदृश्यमा नयाँ रूप र दिशा आवश्यक भएको टिप्पणी गरेका छन्।








प्रतिकृया