• ४ साउन २०८३, सोमबार
  • ८:०२ बेलुका

सञ्चार सेवा र इन्टरनेटको गुणस्तरमा ध्यान दिन टेलिकमलाई मन्त्री खरेलको निर्देशन

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०३:४५

कात्तिक २३, २०८२ काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर सञ्चार सेवा र इन्टरनेटको गुणस्तर सुधार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा मन्त्री खरेलले देशका धेरै ठाउँमा मोबाइल नेटवर्क नटिप्ने गुनासो बढेको भन्दै कभरेज विस्तार र बिग्रिएका साइटहरूको मर्मतमा तत्काल ध्यान दिन निर्देशन दिएका हुन्।

उनले भने, “देशका अधिकांश ठाउँमा नेटवर्क टिपेन भन्ने समस्या आउँछ। त्यसकारण हामीले कभरेजको विषयमा ध्यान पुर्‍याउनुपर्‍यो। १ हजार २ सय टावरको टेन्डर किन भएन? २ सय टावरको टेन्डर प्रक्रिया कहाँ पुग्यो? बिग्रिएका साइटहरूको मर्मतमा हामी कहाँ छौं?”

Kamana Sewa

मन्त्री खरेलले प्रतिस्पर्धी निजी सेवा प्रदायकले एक दिनमै गर्नसक्ने काम टेलिकमले महिनौँ लगाउने अवस्थाको आलोचना गर्दै तत्काल सुधारको आवश्यकतामा जोड दिए।

Classic Tech Desktop

उनले टेलिकमको गुनासो सुन्ने शाखा निष्क्रियजस्तै बनेको भन्दै त्यसलाई प्रभावकारी बनाउन निर्देशनसमेत दिए। “ग्राहकले कल र डाटा प्रयोग गरेवापत पैसा तिरेको छ। उसलाई गुणस्तरीय सेवा दिनु तपाईंहरूको दायित्व हो,” मन्त्री खरेलले भने, “गुनासो कार्यान्वयनमा जानुपर्‍यो। मन्त्री र सचिवसम्म गुनासो पुग्नु उचित होइन।”

मन्त्री खरेलका अनुसार, सरकार टेलिकमको सेवा सुधारका लागि आवश्यक कार्यविधि तयार गर्ने तयारीमा समेत जुटिरहेको छ। उनले टेलिकमलाई ग्राहकमैत्री र प्रतिस्पर्धी बनाउने दिशामा ठोस कदम चाल्न आग्रह गरे।

प्रतिकृया