एमालेको मंसिर २७ मा काठमाडौंमा ऐतिहासिक जनसभा हुने : महासचिव पोखरेल
प्रकाशित मिति
२०८२ कार्तिक १७ गते, सोमबार ०२:५२
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले ऐतिहासिक जनसभा आयोजना गर्ने बताएका छन्। उनले सो जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो सभा हुने दाबी गरेका छन्।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रमुख राजनीतिक दलहरूबाट जनता टाढा भइसके भन्ने धारणा गलत भएको र त्यसको प्रतिवादका रूपमा जनसभा गर्न लागिएको बताए।
उनका अनुसार, “जनता प्रमुख दलबाट अलग भइसके भन्ने अहिले जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो गलत हो भन्ने सावित गर्नकै लागि हामीले जनसभा गर्न लागेका हौं।”
यसअघि बसेको सचिवालय बैठकले देशभर आन्दोलनका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको थियो। त्यसअनुसार एमालेले कात्तिक २२ गते सबै वडामा वडास्तरीय जनभेला, कात्तिक २५ गते पालिकास्तरीय जनर्याली, कात्तिक २९ गते जिल्लास्तरीय जनसभा, र मंसिर ६ गते उपत्यकास्तरीय र्याली आयोजना गर्ने तयारी गरेको छ।
महासचिव पोखरेलले भने, “मंसिर २७ गते हामी काठमाडौंमा नेपालको इतिहासकै सबैभन्दा ठूलो जनसभा गर्दैछौं। यसबाट जनता कसको पक्षमा छन् भन्ने देखिनेछ — जनता कहिल्यै हिंसा, अराजकता र लुटपाटको पक्षमा हुन सक्दैन।”








प्रतिकृया