किन जादै छन् मन्त्री घिसिङ भारत ?
प्रकाशित मिति
२०८२ कार्तिक १० गते, सोमबार ०३:४९
कात्तिक १०, २०८२ काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। मन्त्री घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमार्फत अपराह्न भारत प्रस्थान गरेका हुन्।
१० देखि १३ कात्तिकसम्म नयाँ दिल्लीमा हुने उक्त सभामा ४० भन्दा बढी देशका मन्त्रीहरू सहभागी हुनेछन्। सभामा सदस्य राष्ट्रका ऊर्जा मन्त्री र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र सहकार्यका अवसर विषयमा उच्चस्तरीय छलफल हुनेछ। मन्त्री घिसिङले नेपालतर्फबाट विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ।
नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको उपयोग विस्तार गर्न प्रतिबद्धता जनाएको छ। मन्त्री घिसिङले क्षेत्रीय तथा विश्व ऊर्जा अन्तरआवद्धता र स्वच्छ ऊर्जातर्फको रूपान्तरण विषयक सत्रमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने छन्।
सौर्य ऊर्जा प्रवर्द्धनका साझा उद्देश्यका लागि सन् २०१५ नोभेम्बरमा पेरिसमा जारी घोषणाबाट आइएसएको स्थापना गरिएको हो। संस्थाले सन् २०३० सम्म एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने लक्ष्य राखेको छ।
नेपालले आइएसएको संरचना सम्झौता अनुमोदनपछि २०८१ भदौमा १०१औं सदस्य राष्ट्रका रूपमा औपचारिक रूपमा आवद्ध भएको हो। मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।








प्रतिकृया