• ३ साउन २०८३, आइतबार
  • ९:२६ बिहान

आज यमपञ्चकको दोस्रो दिन: देशभर कुकुर तिहार र नरक चतुर्दशी श्रद्धा एवं भक्ति भावका साथ मनाइँदैछ

प्रकाशित मिति

२०८२ कार्तिक ३ गते, सोमबार ०६:२१

कात्तिक३, २०८२ काठमाडौं– तिहार पर्वको दोस्रो दिन आज देशभर कुकुर तिहार र नरक चतुर्दशी श्रद्धा एवं भक्ति भावका साथ मनाइँदैछ । यमपञ्चकको दोस्रो दिनलाई विशेष गरी कुकुरको पूजा गर्ने दिनका रूपमा लिइन्छ, जहाँ सम्पूर्ण नेपालीहरूले कुकुरलाई टीका, माला र मीठा परिकार अर्पण गरी श्रद्धापूर्वक सम्मान व्यक्त गर्छन्।

वैदिक सनातन परम्परामा कुकुरलाई यमराजको दूत तथा धर्मराजको द्वारपालको रूपमा मानिन्छ । पुराण अनुसार, यमलोकको रक्षा गर्ने कुकुरलाई तिहारमा सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्गमार्ग सुगम हुने विश्वास छ।

Kamana Sewa

द्वापर युगमा युधिष्ठिरलाई स्वर्गारोहणको क्रममा एक वफादार कुकुरले साथ दिएको प्रसङ्गले कुकुरको निष्ठा र पवित्रता झल्काउँछ। ऋग्वेदमा समेत ‘समरा’ नामकी एक कुकुर आमाको कथा उल्लेख छ, जसले स्वर्गराज इन्द्रलाई हराएको वस्तु फेला पार्न सहयोग गरेकी थिइन्।

Classic Tech Desktop

कुकुरलाई वफादार, आज्ञाकारी, सुरक्षाकर्मी र भैरवको वाहनका रूपमा पनि चिनिन्छ । अपराध पत्ता लगाउने र विपद् आउनु अघि चेतावनी दिनेसम्मको क्षमता भएका कारण कुकुरप्रति श्रद्धा प्रकट गर्दै वर्षमा एकपटक आजको दिन कुकुर तिहार मनाइन्छ।

आजैको दिन नरक चतुर्दशी पनि हो, जुन दिन बिहानै तैलाभ्यङ्ग स्नान गरेर पाप नाश गर्ने धार्मिक विधि छ। तिलको तेल, सुगन्धित द्रव्य तथा चन्दन प्रयोग गरी स्नान गर्दा नरकबाट मुक्ति पाइने धार्मिक विश्वास छ, किनभने शास्त्र अनुसार तिलमा लक्ष्मी र जलमा गङ्गाको वास हुन्छ। यस दिन मासको पातको साग खाने, नर्के नुहाउने, दीप दान गर्ने र आलसको बोट बालेर आगो ताप्ने प्रचलन पनि रहेको छ। यसो गर्दा आत्मा शुद्ध भई स्वर्गप्राप्ति सुनिश्चित हुने धार्मिक मान्यता पाइन्छ।

यसरी तिहारको दोस्रो दिन कुकुरप्रति श्रद्धा, आत्मशुद्धि र धार्मिक आस्थाको समन्वयका साथ मनाइन्छ, जसले मानवता, कृतज्ञता र धर्मपरायणताको संदेश दिन्छ।

प्रतिकृया