नुवाकोटमा खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या
प्रकाशित मिति
२०८२ आश्विन २२ गते, बुधबार ०९:१५
असोज २२, २०८२ नुवाकोट– नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा एक व्यक्तिले घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार, ४९ वर्षीया सविना तामाङको मंगलबार साँझ खुकुरी प्रहारबाट हत्या गरिएको हो। उनका पति जीतमान तामाङले विवादको क्रममा आवेशमा आएर खुकुरी प्रहार गरेका थिए।
प्रहरीका अनुसार सविनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको जानकारी पाउनासाथ प्रहरीले तत्कालै जीतमान तामाङलाई नियन्त्रणमा लिएको छ र घटनासम्बन्धी आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ। अभियुक्त तामाङले प्रारम्भिक बयानमा घरायसी झगडा चर्किएपछि आक्रोशमा आएर पत्नीको हत्या गरेको स्वीकार गरेका छन्।
प्रहरीले घटनास्थलबाट खुकुरी बरामद गरेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।








प्रतिकृया