रामेछाप–काठमाडौँ हवाई उडान पुनः सुरु, हप्तामा तीन दिन नियमित सेवा
प्रकाशित मिति
२०८२ आश्विन २२ गते, बुधबार ०९:०९
असोज २२, २०८२ रामेछाप– केही समयको अवरोधपछि रामेछाप–काठमाडौँ हवाई रुटमा पुनः नियमित उडान सुरु गरिएको छ। स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज लगायतको पहलमा आज बुधबारदेखि समिट, सिता र तारा एयरले बारी-बारी गरी नियमित उडान सञ्चालन गर्न थालेका हुन्।
पछिल्ला केही सातादेखि रामेछाप–लुक्ला रुटमा दैनिक ५० देखि ६० उडान भइरहेकाले काठमाडौँ उडान सञ्चालनमा अवरोध हुँदै आएको थियो। तर असोज १७, १८ र १९ गते परेको भारी वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक रूपमा हवाई उडानलाई प्राथमिकता दिइएको हो।
रामेछापको मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौँको दूरी १२५ किलोमिटर रहेकामा सडक अवरुद्ध हुँदा यातायात अवरुद्ध भएको थियो। वैकल्पिक रूपमा चरिकोट हुँदै दोलालघाट पार गरेर काठमाडौँ पुग्न करिब २०० किलोमिटरको यात्रा गर्नुपर्ने अवस्था थियो।
नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अबदेखि हप्तामा तीन दिन — बुधबार समिट एयर, शुक्रबार सिता एयर र शनिबार तारा एयरले रामेछाप–काठमाडौँ–रामेछाप रुटमा नियमित हवाई सेवा सञ्चालन गर्नेछन।
यस नियमित उडानले यात्रुहरूलाई सहज आवागमनमा मद्दत पुग्ने र आपतकालीन अवस्थाका लागि वैकल्पिक सुविधा उपलब्ध हुने विश्वास लिइएको छ।








प्रतिकृया