प्रधानमन्त्री कार्कीद्वारा विपद् व्यवस्थापन परिषद्को बैठक आह्वान
प्रकाशित मिति
२०८२ आश्विन २० गते, सोमबार ०३:१८
असोज २०, २०८२ काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छिन्। बैठक मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्रीको नेतृत्वमा बस्नेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठकमा हालैको अविरल वर्षापछि आएको बाढी र पहिरोबाट प्रभावितहरूलाई राहत वितरण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था, क्षति भएका संरचनाको पुनर्निर्माण लगायतका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरिनेछ।
भट्टका अनुसार हालसम्म बाढी र पहिरोका कारण ४५ जनाको ज्यान गएको, ६ जना बेपत्ता रहेको र २४ जना घाइतेको उपचार भइरहेको छ। घाइतेहरूको स्थानीय प्रशासनको समन्वयमा निःशुल्क उपचार भइरहेको छ भने पीडित परिवारलाई खाद्यान्न लगायतका आवश्यक सामग्री पनि उपलब्ध गराइएको छ।
उनले अझै पनि केही स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेकाले जनधनको पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए। सरकारले विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणलाई प्राथमिकता दिने तयारी गरेको छ।








प्रतिकृया