माओवादी केन्द्र सक्रिय रूपमा निर्वाचनमा सहभागी हुन्छ: प्रचण्ड
प्रकाशित मिति
२०८२ आश्विन २० गते, सोमबार ०३:३३
असोज २०, २०८२ काठमाडौं- नेकपा माओवादी केन्द्रका विशेष महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सक्रियताका साथ आगामी निर्वाचनमा सहभागी हुने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादी केन्द्र घोषित मितिमा निर्वाचन हुनु पर्ने र सबै राजनीतिक दलहरूको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे।
“निर्वाचन तय समयमै हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,” प्रचण्डले भने, “सबै दल निर्वाचनमा सहभागी होउन् भन्ने पक्षमा हामी छौं।”
उनले अन्य राजनीतिक दलहरूसँग पनि छलफल जारी रहेको जानकारी दिँदै केही समयमै यसको परिणाम देखिने दाबी गरे।पार्टीको सचिवालय बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति, राहत तथा पुनःस्थापना सम्बन्धी विषयमा पनि छलफल भएको उनले जानकारी दिए।
पार्टीभित्र जेनजी आन्दोलनको दबाबपछि विशेष महाधिवेशनको घोषणा गर्दै नेतृत्व छोड्ने संकेत दिएका प्रचण्डमाथि अहिले पनि पार्टी नेतृत्वबाट पछि हट्न दबाब बढ्दै गएको छ। यस्तो सन्दर्भमा निर्वाचनमा नेतृत्वसहितको सक्रिय सहभागिता प्रचण्डको रणनीतिक सन्देशका रूपमा हेरिएको छ।








प्रतिकृया