आज दशैंको मुख्य दिन, टीकाको शुभ साइत ११:५३ बजे
प्रकाशित मिति
२०८२ आश्विन १६ गते, बिहीबार ०८:३७
असोज १६, २०८२ काठमाडौं– नेपालीहरूको महान चाड बडादशैं अन्तर्गत आज विजयादशमी धूमधामसँग मनाइँदैछ। आजको दिन घर–परिवार, आफन्त तथा मान्यजनहरूको हातबाट टीका, जमरा र प्रसाद थापी शुभकामना र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, विजयादशमीको टीका लगाउने उत्तम साइत आज बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। समितिका सदस्य डा. बासुदेव कोइरालाका अनुसार राज्य सञ्चालकहरूले यसै साइतमै टीका ग्रहण गर्नुपर्नेछ।

टीका लगाउनु अघि देवी विसर्जनको प्रक्रिया आज बिहान ९:२३ बजे सम्पन्न भएको हो। समितिका अर्का सदस्य देवमणि भट्टराईका अनुसार, टीका लगाउनु अघि देवी विसर्जन गर्नु अनिवार्य हुन्छ। यदि टाढा जानुपर्ने अवस्था भएमा झुल्के घाममै विसर्जन गरेर टीका थाप्न सकिने बताए। आजको दिन विशेषगरी गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, आमा, बुबा, र अन्य मान्यजनहरूको हातबाट टीका र जमरा थापी नव दुर्गा भवानीको आशीर्वाद ग्रहण गरिन्छ। यस अवसरमा दीर्घायु, यश, ऐश्वर्य र सफलता को कामना गरिन्छ।

टीका लगाउने व्यक्ति पूर्व फर्किनु, र टीका लगाइदिने व्यक्ति पश्चिम फर्किनु पर्ने परम्परा अनुसार विधिपूर्वक टीका र जमरा प्रदान गरिन्छ। यदि आज टीका थाप्न नपाउनेले पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र प्रसाद थाप्न सक्नेछन्। घटस्थापनाको दिन राखिएको पहेँलो जमरा समृद्धिको प्रतीकका रूपमा प्रयोग गरिन्छ।
देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीहरूले पनि एक आपसमा भेटघाट गरी, सामूहिक रूपमा दशैं मनाउने गरेका छन्। यो पर्वले पारिवारिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।
दशैं पर्वको समापन कोजाग्रत पूर्णिमाको दिन हुने गर्दछ। त्यस दिन महालक्ष्मीको व्रत बस्ने र पूजा गर्ने परम्परा छ, जसले आर्थिक समृद्धिको प्रतीकका रूपमा अर्थ राख्दछ।




प्रतिकृया