• ३१ भदौ २०८३, बुधबार
  • ८ः०९ राती

महानवमीका दिन तलेजु भवानी मन्दिर एक दिनका लागि खुला, भक्तजनहरूको भिड

प्रकाशित मिति

२०८२ आश्विन १५ गते, बुधबार ०८:२२

असोज १५, २०८२ काठमाडौं– हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तलेजु भवानीको मन्दिर आज महानवमीको अवसरमा एक दिनका लागि खुला गरिएको छ। वर्षमा एकपटक मात्र खुल्ने यस मन्दिरमा दर्शन तथा पूजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरू लामबद्ध भएका छन्।

National Life

दैवीशक्ति स्वरूप पुजिने तलेजु भवानीलाई ‘तुलजा’ नामले पनि चिनिन्छ। तलेजु भवानीलाई फूलपातीको दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो भने, विजयादशमीको बिहान मूल मन्दिरमा पुनः फर्काइने परम्परा रहिआएको छ।

महानवमीको पूर्वसन्ध्या अर्थात् महाअष्टमीको रातमा मूलचोकमै कालरात्रि पूजा गरी ५४ वटा बोका र ५४ वटा राँगाको बलि दिइएको थियो। राज्य सञ्चालनमा शक्ति प्राप्त होस् भन्ने विश्वाससहित तान्त्रिक विधिमा यो पूजा गरिँदै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महानवमीकै दिन दशैंघर, कोत, र अन्य शक्तिपीठहरूमा पनि विशेष पूजा, बलिदान, र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरिएको छ।

वर्षमा एकदिन मात्र खुल्ने तलेजु मन्दिर २०७७ सालमा भने कोरोना महामारीका कारण बन्द गरिएको थियो। तर २०७८ सालदेखि खोप अभियानको सफलतापछि पुनः भक्तजनहरूका लागि मन्दिर खोलिएको हो।

हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलका अनुसार, “आज बिहानै मन्दिरको ढोका खोलिएको हो र भक्तजनहरूका लागि दर्शनको व्यवस्था गरिएको छ।” उनका अनुसार भीड व्यवस्थापन र सुरक्षा प्रबन्ध समेत मिलाइएको छ।

प्रतिकृया