राष्ट्रपति पौडेलको दसैं शुभकामना सहित तोकिएकै समयमा चुनाव र स्थायीत्वका लागि अपिल
प्रकाशित मिति
२०८२ आश्विन १३ गते, सोमबार ०९:५१
असोज १३, २०८२ काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न, त्यसपछि जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताको सुनिश्चितता गर्न सबैलाई संयमता र सहयोगको अपिल गरेका छन्। बडादशैं २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रको सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिका लागि सबैलाई सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
उनले भनेका छन्, “तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न, मुलुकमा उत्पन्न सबै प्रकृतिका समस्याहरूको समाधान गरी शीघ्र उन्मुक्ति प्राप्त होस् भन्ने कामना गर्छु।”
राष्ट्रपति पौडेलको यो सन्देश हालैको राजनीतिक उथलपुथलपछिको सन्दर्भमा आएको हो। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि संसद्बाट नयाँ सरकार बन्न नसकेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका थिए। नयाँ निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ। शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले राष्ट्रमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति, र संस्थागत तथा निजी क्षेत्रका भौतिक क्षतिलाई उचित व्यवस्थापन गर्न सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका छन्।
त्यस्तै, उनले दसैं पर्वको संरक्षण र संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति गहिरो प्रेम र सम्मानको भावना जागृत हुने विश्वास व्यक्त गरेका छन्। अन्त्यमा राष्ट्रपति पौडेलले बडादशैं २०८२ ले सबै नेपालीमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामनासमेत गरेका छन्।






प्रतिकृया