जेन–जी आन्दोलनमा आजसम्म २३ अर्बभन्दा बढीको बीमा दावी, सिद्धार्थ प्रिमियरमा सबैभन्दा बढी
प्रकाशित मिति
२०८२ आश्विन ८ गते, बुधबार ०५:१६
असोज ८, २०८२ काठमाडौं– भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा आजसम्म २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ८ गतेसम्ममा कुल २९८८ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी रुपैयाँको बीमा दावी परेको छ । कम्पनीमा कुल पाँच अर्ब ४५ करोड ९३ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । कम्पनीमा देशभरीबाट हालसम्म ३०७ वटा दावी परेका छन् ।

सर्वाधिक बीमा दावी पर्नेमा द ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीमा देशभरीबाट ८६ वटा दावी बापत पाँच अर्ब २३ करोड २४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।

साथै, सबैभन्दा बढी बीमा दावी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । हालसम्म कम्पनीमा कुल १९६ वटा दावी बापत दुई अर्ब ७९ करोड ६६ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । शिखर इन्स्योरेन्समा असोज ८ गतेसम्म ३९७ वटा दावी बापत कुल दुई अर्ब ३९ करोड १३ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ ।
यसैगरी, जेन–जी आन्दोलनले सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२२ वटा दावी बापत एक अर्ब ५७ करोड ५९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा २६१ वटा दावी बापत एक अर्ब २३ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा २२९ वटा दावी बापत एक अर्ब १२ करोड ४३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।




प्रतिकृया