• ३१ भदौ २०८३, बुधबार
  • १०ः४२ राती

तातोपानी–कोदारी सडक सञ्चालनमा, दशैंका लागि चीनबाट सामान बोकेका कन्टेनर आउजाउ सुरु

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०९:१७

असोज ७, २०८२ सिन्धुपाल्चोक — एक महिनादेखि अवरुद्ध रहेको तातोपानी–कोदारी सडक खण्ड सञ्चालनमा आएपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार फेरि सक्रिय भएको छ। दशैंलाई लक्षित गर्दै चीनबाट सामान बोकेका कन्टेनरहरू भन्सार यार्डमा आवत–जावत गर्न थालेका छन्।

National Life

तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका अनुसार, चीनतर्फबाट कन्टेनरहरू तातोपानी भन्सार यार्डमा आइरहेका छन् भने नेपालबाट पनि चीनतर्फ कन्टेनर पठाउने क्रम सुरु भएको छ।

गत भदौ ८ गतेदेखि झरीका कारण आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएपछि नेपाल–चीन व्यापार प्रभावित भएको थियो। डाक्लाङ, घट्टेखोला, कोदारी लगायत पाँच ठाउँमा पहिरो खसेपछि सडक ठप्प भएको थियो। सडक डिभिजन कार्यालय चरिकोटले तीन वटा एस्काभेटर, तीन लोडर, १३ वटा टिपर र ४० जना मजदुर परिचालन गरी पहिरो हटाएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीय बासिन्दाहरूले पहिरो क्षेत्रको दीर्घकालीन समाधानबिना पहिरो नहटाउन आग्रह गरेपछि केही समय काम रोकिएको थियो। अन्ततः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी सम्हालेका कुलमान घिसिङले सरोकारवालासँगको बैठक बोलाई समस्या समाधानका लागि पहल गरेका थिए।

असोज ३ गते तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय बैठकले स्थानीयको माग सम्बोधन गर्ने र पहिरो हटाउने काममा अवरोध नगर्ने सहमति जुटाएको थियो। कात्तिक मसान्तसम्म ठेक्का आह्वान र असार मसान्तसम्म काम सुरु गर्ने सहमति अनुसार कामलाई तीव्रता दिइएको थियो।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार, हाल भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु लगायत सबै पहिरो हटाइएको छ र सडकमा सवारी आवागमन सुरु भएको छ।

सोमबार अनुगमनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी लगायतको टोली तातोपानी पुगेको थियो। अनुगमनका क्रममा टोलीले पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरण, स्थायी सडक समाधान र प्राविधिक पहलका उपायहरूमा समेत ध्यान दिने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया