नेप्सेले हटायो अन्तिम १५ मिनेटको औसत मूल्य विधि, अब सूचक अन्तिम मूल्यमै आधारित
प्रकाशित मिति
२०८२ आश्विन ५ गते, आईतवार १०:१२
असोज ५, २०८२ काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अन्ततः अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटाएको छ । आज (आइतबार) परीक्षण गरिएको नयाँ प्रणाली भोलि घटस्थापनाको सार्वजनिक बिदापछि मंगलबारदेखि लागू हुनेछ ।
गत चैत ७ गतेदेखि लागु गरिएको यो विधिले बजार झारेको भन्दै लगानीकर्ताहरूको तर्फबाट निरन्तर विरोध हुँदै आएको थियो । अन्तिम १५ मिनेट — अर्थात् दिउँसो २:४५ बजेदेखि ३:०० बजेसम्म — भएका कारोबारहरूको भारित औसत मूल्यका आधारमा नेप्से सूचकहरू गणना गरिँदै आएको थियो । तर, यसले प्राय: दिन बजारको समग्र सूचक (नेप्से इन्डेक्स) घटाउने प्रभाव पार्दै आएको थियो ।
यो विधिका कारण बजार अनावश्यक रूपमा झर्ने गरेको भन्दै लगानीकर्ता र दलालहरू दुबैले असन्तुष्टि जनाएका थिए । अझ त्यसमाथि नेप्सेको प्रणाली पूर्ण रूपमा अटोमेटेड र स्तरीय नहुँदा गणनामा प्राविधिक त्रुटिहरू देखिएको थियो । साउन १२ गते बजार बन्द भएपछि सार्वजनिक भएको तथ्यांकमा भारित औसत गणनाले नेप्से २ अंकले घटेको देखाइएको थियो, जबकि त्यसअघिसम्म नेप्से १० अंकले बढेको थियो । पछि त्रुटि स्वीकार गर्दै नेप्सेले अंक सच्याएपछि सूचक ७ अंकले बढेको देखिएको थियो ।






प्रतिकृया