माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव
प्रकाशित मिति
२०८३ आश्विन ५ गते, सोमबार ०१:४३
५ असोज २०८३, काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने भएको छ ।
यस्तै, अग्राधिकार सेयरधनीलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयरको ८.२५ प्रतिशतका दरले असार मसान्तसम्मको समानुपातिक रूपमा हुने करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ । त्यस्तै, संस्थापक समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पेश गरिनेछ ।
स्वतन्त्र सञ्चालक पदमा ४ वर्षका लागि अर्जुनकुमार गौतमलाई नियुक्त गरिएको जानकारी सभामा गराइनेछ । साथै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुने बैंकले जनाएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले असोज १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । असोज ११ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश पाउने तथा साधारण सभामा सहभागी हुन सक्नेछन् ।






प्रतिकृया