• ४ साउन २०८३, सोमबार
  • ३:५४ बिहान

जेन–जी आन्दोलनमा घुसपैठ, ऐतिहासिक धरोहरमा आगजनी भएको नेता प्रकाशमान सिंहको आरोप

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०१:२६

असोज २, २०८२ काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेन–जी आन्दोलनको नाममा भइरहेको तोडफोड र आगजनीमा वास्तविक आन्दोलनकारी होइन, घुसपैठकर्ताहरू संलग्न भएको आरोप लगाएका छन्। बिहीबार काठमाडौं ठमेलस्थित चाक्सीबारीमा रहेको आफ्नै घर निरीक्षण गर्ने क्रममा सिंहले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले इतिहासमा सम्मान गरिने स्वर्गीय गणेशमान सिंहको घर, बिपी कोइरालाको निवास, कृष्णप्रसाद भट्टराईको आश्रम जस्ता ऐतिहासिक र राष्ट्रिय मूल्य बोकेका सम्पत्तिहरूमा आगजनी हुनु दुःखद र आपराधिक भएको बताए। “यी कार्य सच्चा जेन–जी आन्दोलनकारीबाट होइन, आन्दोलनमा घुसपैठ गर्ने नियोजित तत्वबाट भएको हो,” सिंहले भने।

Kamana Sewa

सिंहले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्। उनले देशव्यापी रूपमा भएको यस्ता घटनाले राष्ट्रलाई नै ठूलो क्षति पुर्‍याएको र मुलुकको परिवर्तनमा योगदान दिने व्यक्तित्वहरूलाई लक्षित गरेर गरिएका आक्रमणहरू सह्य नहुने चेतावनीसमेत दिए।

Classic Tech Desktop

“हामी सबैले मिलेर देश बनाउने हो, विगतलाई मेट्ने होइन,” नेता सिंहले भने। साथै, उनले वर्तमान राजनीतिक नेतृत्वले जनताको भावना अनुसार पार्टी र नीति अघि बढाउनु आवश्यक रहेकोमा पनि जोड दिए।

जेन–जी आन्दोलनको क्रममा सिंहको चाक्सीबारीस्थित घरमा आगजनी भएको थियो। उक्त घर नेपाल लोकतान्त्रिक आन्दोलनका अगुवा गणेशमान सिंहले निर्माण गरेका थिए। हाल मर्मत गरी प्रकाशमान सिंह सोही घरमा बस्दै आएका थिए।

प्रतिकृया