जनमत पार्टीमा ठूलो विभाजन: वरिष्ठ उपाध्यक्षसहित ६ नेताको सामूहिक राजीनामा
प्रकाशित मिति
२०८२ आश्विन २ गते, बिहीबार ०१:१४
काठमाडौं, भदौ २४ – जनमत पार्टीमा नेतृत्वको असन्तुष्टिले चरम रूप लिँदै गएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना शीर्षस्थ नेताले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्। उनीहरूले अध्यक्ष सीके राउतलाई २४ घण्टा भित्र नेतृत्व परिवर्तन गर्न अल्टिमेटम पनि दिएका थिए।
राजीनामा बुझाउने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, युवा सङ्घ संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी संघका संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बम रहेका छन्।
उनीहरूले जनभावना अनुसार आत्मआलोचना गर्दै नेतृत्व परिवर्तनको माग राखे पनि पार्टी अध्यक्ष राउतले त्यसलाई अपहेलना गरेको आरोप लगाएका छन्। “जेन्जी पुस्ताले बगाएको रगतको अपमान गर्दै अहंकारपूर्ण भाषा बोलेको” भन्दै उनीहरूले अब साधारण सदस्यसमेत नरहने गरी जनमत पार्टी परित्यागको घोषणा गरेका छन्।
सीके राउतले भने विद्रोह गरेका नेताहरूलाई पार्टी छोड्न सुझाउँदै, “यो उपयुक्त समय हो” भन्ने अभिव्यक्ति दिएका छन्। यसले पार्टीभित्रको गहिरो मतभेद र आगामी दिनमा देखिन सक्ने थप विभाजनको संकेत दिएको छ।
जनमत पार्टीमा देखिएको यो आन्तरिक संकटले पार्टीको संगठनात्मक भविष्य र आगामी राजनीतिक रणनीतिमा गम्भीर असर पार्न सक्ने विश्लेषकहरूको ठम्याइ छ।









प्रतिकृया