सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय संविधानविरोधी : प्रचण्ड
प्रकाशित मिति
२०८२ भाद्र २० गते, शुक्रबार ०४:०८
भदौ २०,२०८२ काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भनेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले सरकारले अभिव्यक्ति स्वतन्त्रता दबाउने, विरोध गर्ने स्वरलाई मुद्दा लगाएर थुन्ने र आफ्नालाई जोगाउने प्रवृत्ति संस्थागत गर्दै आएको आरोप लगाए।
“संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ,” प्रचण्डले भनेका छन्, “यो कदम संविधानविरोधी मात्र नभई जनविरोधी र अलोकतान्त्रिक पनि हो। यो सर्वोच्च अदालतको आदेशको समेत अपव्याख्या हो।”
उनले सामाजिक सञ्जाल बन्दको निर्णयले प्रवासी श्रमिक र परिवारबीचको सम्पर्कलाई समेत असहज बनाएको उल्लेख गर्दै नियन्त्रण होइन, उचित नियमनको पक्षमा माओवादी केन्द्र रहेको स्पष्ट पारे। साथै संसदमा विचाराधीन विधेयकमा सरोकारवालाको सहभागिता सुनिश्चित गरेर अघि बढ्नुपर्ने धारणा राखे।
“कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो,” प्रचण्डले भने, “संविधान प्रदत्त अधिकार र लोकतान्त्रिक मूल्यको रक्षा गर्दै, म सरकारले गरेको यो निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु।”






प्रतिकृया