• ४ साउन २०८३, सोमबार
  • ७:२५ बेलुका

आज तीज : पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला

प्रकाशित मिति

२०८२ भाद्र १० गते, मंगलवार ०८:३२

भदौ १० ,२०८२ काठमाडौं –  हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने हजारौं भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले विशेष तयारी गरेको छ। मन्दिरका चारवटै ढोका मंगलबार बिहान ३ बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिएका छन्।

भक्तजनलाई भीडमा असहज हुन नपरोस् भनेर पशुपति क्षेत्रको चारवटा दिशाबाट मन्दिर प्रवेशका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । गौरीघाट–उमाकुण्ड मार्ग: उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने। मित्रपार्क–जयबागेश्वरी मार्ग: पश्चिम सानो ढोकाबाट प्रवेश गरी मूलढोकाबाट बाहिरिने।

Kamana Sewa

पिङ्गलास्थान–पञ्चदेवल मार्ग: दक्षिण सानो ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाट बाहिरिने। तिलगङ्गा–आर्यघाट मार्ग: पूर्व ढोकाबाट प्रवेश गरी त्यहीँबाट बाहिरिने। प्रत्येक मार्गमा जुत्ता–चप्पल राख्ने अस्थायी कक्षको व्यवस्था मिलाइएको छ।

Classic Tech Desktop

मूल मन्दिरभित्र आठवटा लामको व्यवस्था गरिएको छ। साथै, श्रीयन्त्र पूजाको समयमा बाहिरैबाट दर्शन गर्न सकिने गरी जालीको व्यवस्था गरिएको छ।

चार ढोका खुलासँगै निम्न सेवा-सुविधाहरूको व्यवस्था गरिएको छ । सुरक्षा र स्वयंसेवक परिचालन, दर्शन मार्गको सुधार,चन्दन–प्रसाद वितरण,आकस्मिक स्वास्थ्य सेवा,धार्मिक भजन–कीर्तन र मनोरञ्जनात्मक गीत कार्यक्रम,दीपावली सजावट, व्रतालुका लागि गौदानको व्यवस्था,चन्दन वितरणका लागि सानोसदावर्त सत्तल, पञ्चदेवल, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला र जयबागेश्वरी क्षेत्रहरुमा व्यवस्था गरिएको छ।

तेस्रो देशका पर्यटकलाई (पर्यटक शुल्क तिर्ने) मन्दिर प्राङ्गण बाहेक मेलास्थलको अवलोकन भ्रमण गर्न दिइने कोषकी सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन्। साथै, गौदान, पूर्णपात्रो जस्ता धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँ–बायाँ क्षेत्रमा स्थान छुट्याइएको छ।

कोषले भक्तजनलाई बहुमूल्य गहना नलगाई र साना बालबालिका साथमा नलिई मन्दिर दर्शनमा जान अनुरोध गरेको छ। नित्य दर्शनार्थीका लागि बिहान ५:३० बजे सम्म जुनसुकै ढोकाबाट प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ। साथै, मन्दिर दर्शनका लागि कुनै पास आवश्यक नपर्ने कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिएका छन्।

प्रतिकृया