देशभर बदली, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
प्रकाशित मिति
२०८२ भाद्र ९ गते, सोमबार ०८:४६
भदौ ९,२०८२ काठमाडौं – नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहँदा देशभर मौसम बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर साधारणतया बदली रहनेछ।
कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भू-भागमा साधारणतया बदली, बाँकी भू-भागमा आंशिक बदली रहने जनाइएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागमा धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, लुम्बिनी प्रदेश तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ।

साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।




प्रतिकृया