नेपालमा मनसुन भित्रिएको दुई महिना बित्दा पनि कम वर्षा, मधेश सबैभन्दा बढी प्रभावित
प्रकाशित मिति
२०८२ श्रावण १५ गते, बिहीबार ०९:४७
श्रावण १५, २०८२ काठमाडौं । नेपालमा मनसुन सुरु भएको दुई महिना बितिसक्दा पनि देशभर सरदरभन्दा कम वर्षा भएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तराई–मधेश क्षेत्रमा अझै न्यून वर्षा हुँदा स्थिति चिन्ताजनक बनेको छ।
गत जेठ १५ गते (मे २८) पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको थियो। त्यसपछि करिब तीन साता लागेर मनसुन देशभर फैलिएको थियो। सुरुवाती चरणमा केही सक्रिय रहे पनि पछि मनसुन निष्क्रिय बन्दै गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। उनका अनुसार असारको दोस्रो सातापछि अधिकांश समय देशभर न्यून वर्षा भएको छ। वर्षा कम भए पनि केही स्थानमा भने प्राकृतिक प्रकोपले ठूलो क्षति पुर्याएको छ। असार २४ गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले जनधनमा ठूलो क्षति पुर्याएको थियो।

वर्षा अभावका कारण मधेश प्रदेशमा सबैभन्दा बढी असर परेको छ। पर्याप्त पानी नपर्दा समयमै धान रोपाइँ हुन सकेको छैन। साथै, पिउने पानी र सिँचाइका स्रोतहरू पनि सुक्न थालेपछि मधेश प्रदेश सरकारले असार २६ गते प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसको करिब दुई हप्ता पछि, साउन ७ गते संघीय सरकारले पनि मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

प्राधिकरणले आगामी दिनमा पनि वर्षा कम हुने सम्भावना रहेकाले सतर्क रहन तथा सम्भावित जोखिम न्यूनीकरणका उपायहरू अपनाउन आग्रह गरेको छ।




प्रतिकृया