मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै
प्रकाशित मिति
२०८२ श्रावण १५ गते, बिहीबार ०९:५३
श्रावण १५, २०८२ काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीबार) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। अपराह्न ५ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने विषय समावेश गरिएको छ।
नागरिक उन्मुक्ति पार्टीले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको भन्दै असार २० गते सरकारबाट समर्थन फिर्ता लिएपछि शाहले संविधानको धारा अनुसार ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री शाहलाई समर्थन गर्न नेपाली कांग्रेस र नेकपा एमाले तयार देखिएका छन्। एमाले प्रमुख सचेतक सुरेन्द्र पालले सबै सांसदलाई अनिवार्य रूपमा बैठकमा उपस्थित हुन ह्वीप जारी गरिएको जानकारी दिए। कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले पनि आफ्ना सांसदहरुलाई धनगढी नछाड्न र पक्षमा मतदान गर्न निर्देशन दिइएको बताए।
तर, सत्ता गठबन्धनमा असन्तुष्टि बढ्दै गएको देखिएको छ। नेकपा माओवादी केन्द्रका ११ जना सांसदले विपक्षमा मतदान गर्ने घोषणा गरिसकेका छन् भने नागरिक उन्मुक्ति पार्टीका ७ सांसद पनि अहिले प्रतिपक्षमै छन्।
प्रदेशसभामा ५३ जना सदस्य छन्। विश्वासको मत प्राप्त गर्न कम्तीमा २७ मत आवश्यक पर्छ। कांग्रेसका १८ र एमालेका ११ सांसद जोड्दा मुख्यमन्त्री शाहले आवश्यक बहुमत सजिलै प्राप्त गर्ने देखिन्छ। तर, गठबन्धन कमजोर बन्दै गएकोले उनको नेतृत्वको सरकारले दुई तिहाई समर्थन भने गुमाउने निश्चित देखिएको छ।
प्रदेशमा एकीकृत समाजवादीका ४ जना, राप्रपाका १ र स्वतन्त्र १ सांसद रहेका छन्। यी सांसदहरुको भूमिका आजको मत परिणाममा निर्णायक हुन सक्ने अनुमान गरिएको छ।








प्रतिकृया