आज पनि रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार
प्रकाशित मिति
२०८२ असार २५ गते, बुधबार ०२:४३
असार २५, २०८२ काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग वा संसदीय समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
बैठक सुरु हुनासाथ रास्वपाका सांसद सोविता गौतमले सरकारले आफूहरूको माग बेवास्ता गर्दै सामान्य प्रशासनिक समिति बनाएर ‘झेली खेल’ खेलेको आरोप लगाइन्। “नागरिक बेचिने र मुलुकको छविमा आँच आउने विषयमा स्वार्थ बाझिएको देखिन्छ। कनिष्ठ कर्मचारी सम्मिलित टालटुले समिति बनाएर सरकार गम्भीर बन्न नचाहेको स्पष्ट छ,” गौतमले भनिन्, “जबसम्म उच्चस्तरीय छानबिन समिति गठन हुँदैन, संसद् बैठक बहिष्कार जारी रहनेछ।”
राप्रपाकी सांसद अनिशा नेपालीले पनि भिजिट भिसा दुरुपयोग प्रकरणमा गम्भीर र निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै सामान्य समिति बनाएर विषयलाई हल्का ढंगले लिइएको आरोप लगाइन्। उनले हालै मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपद्बाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित नागरिकलाई तत्काल राहत दिन सरकारको ध्यानाकर्षण गराइन्।
गौतम र नेपालीले धारणा राखेपछि रास्वपा र राप्रपाका सबै सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए। दुवै पार्टीले सरकारसँग पुनः उच्चस्तरीय छानबिन आयोग वा संसदीय समिति गठन गर्न माग दोहोर्याएका छन्। साथै, बैठकमा नेकपा (एमाले) की सांसद सुनिता बरालले प्रधानमन्त्री पुष्पकमल दाहालको स्पेन भ्रमणबारे रास्वपाले गरेका टिप्पणीप्रति आपत्ति जनाउँदै त्यसले असंवेदनशीलता झल्काएको टिप्पणी गरिन्।








प्रतिकृया