आज रातिदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का
प्रकाशित मिति
२०८२ असार २५ गते, बुधबार ०३:०९
असार २५, २०८२ काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्च रोक्न आज राति १२ बजेदेखि सात दिनका लागि सबै सरकारी खाता रोक्का गरिने भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार यो रोक्का व्यवस्था लागू गरिन लागेको हो।
महालेखा नियन्त्रक कार्यालय (मलेनिका) की प्रवक्ता सुशीला अर्यालका अनुसार, आर्थिक वर्षको दायित्वअनुसार बजेट निकासा गर्न असार २५ अन्तिम दिन भएकाले सूत्र (स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली), टिएसए (एकल खाता प्रणाली), र सिगास (कम्प्युटरकृत सरकारी लेखाप्रणाली) सात दिनका लागि बन्द हुनेछन्। यसअघि हरेक वर्ष मलेनिकाले परिपत्रमार्फत खाता रोक्का गर्न निर्देशन दिने प्रचलन थियो। तर यस वर्ष नियमावलीमै बाध्यकारी प्रावधान रहेकोले छुट्टै परिपत्र आवश्यक नभएको अर्यालले स्पष्ट पारिन्। उनले भनिन्, “कानुन अनुसार आर्थिक वर्ष समाप्त हुन एक साता अघिदेखि निकासा रोक्का गर्नुपर्ने स्पष्ट व्यवस्था छ।”
नियमावलीले स्पष्ट रूपमा अत्यावश्यक प्रयोजनका लागि मात्रै महालेखा नियन्त्रकको सहमतिमा खर्च भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ। यस्तै, विनियोजन ऐनले ‘फ्रिज’ हुन नहुने भनेका शीर्षकहरूबाहेक अन्य कुनै पनि शीर्षकमा बजेट निकासा गर्न पाइने छैन।
महालेखा नियन्त्रक कार्यालयका अनुसार, असार २५ सम्ममा चालु शीर्षकअन्तर्गत ८४%, पुँजीगत खर्चतर्फ ५३% र वित्तीय व्यवस्थातर्फ ८६% बजेट खर्च भइसकेको छ। समग्र सरकारी खर्च करिब ७९% हाराहारी पुगेको छ।








प्रतिकृया