आरआरमा ‘निर्विरोध निर्वाचित स्ववियु ’ विवादमा
प्रकाशित मिति
२०८२ बैशाख १९ गते, शुक्रबार १२:२२
वैशाख १९, २०८२ काठमाडौँ: रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन समितिले ‘स्ववियु निर्विरोध निर्वाचित’ सम्बन्धी सूचना प्रकाशित गरेपछि नयाँ विवाद उत्पन्न भएको छ ।
निर्वाचन समितिले अनेरास्ववियुका लोकेश कुमार खड्कालाई सभापति बनाउदै सबै पदाधिकारी र सदस्य निर्बिरोध भएको घोषणा गरिएको छ । सो घोषणाप्रति नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) ले विरोध गरेका छन् । नेविसंघका सभापति उम्मेदवार विनोदराज जोशीले आफुहरु यस निर्णयको पक्षमा नरहेको र प्रशासनको यो कदमप्रति आफुहरु अदालत जाने बताए । उनले मनोनयन दर्ता भइसकेको अवस्थामा कसरी निबिरोध हुन्छ भन्दै प्रश्न गरेका छन् ।
त्यस्तै अखिल क्रान्तिकारीले आफुहरु निर्णय प्रक्रियामा नै सहभागी नगराई षड्यन्त्रपूर्वक सङ्गठनको नाम प्रयोग गरेकोमा आपत्ति जनाएको छ । विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार २०८१ चैत ५ गतेभित्र सम्पन्न हुनुपर्ने निर्वाचन प्रक्रिया सत्ता निकट समूह, प्रशासनिक कमजोरी र योजनाबद्ध ढिलाइका कारण अवरुद्ध भएको जनाइएको छ ।
विद्यार्थीहरुले निर्विरोध घोषणा खारेज गरिनुपर्ने, अदालतको आदेश अनुसार निष्पक्ष, पारदर्शी र समावेशी निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने, निर्वाचनको नयाँ मिति तुरुन्त सार्वजनिक गरिनुपर्ने माग बेवास्ता भए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
आरआरमा बुधबार सर्वसम्मत २१ सदस्यीय स्ववियु चयन भएको सूचना प्रकाशित गरिएको थियो । जसमा स्ववियु सभापतिमा अनेरास्ववियुका लोकेशकुमार खड्का, उपाध्यक्षमा अखिल क्रान्तिकारीका संगमकुमार लामा तामाङ, सचिवमा नेविसंघतर्फबाट शैलेन्द्र उपाध्याय, कोषाध्यक्षमा अनेरास्ववियूबाट अम्बिका अधिकारी चयन भएको निर्वाचन समितिले जनाएको छ ।






प्रतिकृया