अत्यधिक सतर्कताले व्यापार अनौपचारिक बनेको र राजस्वमा असर परेको छ : अध्यक्ष ढकाल
प्रकाशित मिति
२०८१ चैत्र २८ गते, बिहीबार ०३:५९
चैत्र २८, २०८१ काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको महत्त्व र आर्थिक सुधारका लागि सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन् ।
महासंघको ५९औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रमा बोल्दै उनले महासंघको दुईवर्षे कार्यकालमा चुनौतीहरूलाई अवसरमा बदल्ने प्रयास सफल भएको र सुधारको यात्रा जारी रहेको बताएका हुन् ।
ढकालले दुई वर्षअघि श्रीलंकाको जस्तो आर्थिक संकटको त्रास रहे पनि नेपालको अवस्था फरक रहेको स्मरण गरे। सहुलियतपूर्ण कर्जा, कम ऋण अनुपात र पर्याप्त विदेशी विनिमय सञ्चितिका कारण संकट टरेको उनको भनाइ थियो। तर, अत्यधिक सतर्कताले व्यापार अनौपचारिक बनेको र राजस्वमा असर परेको उनले औँल्याए। पछिल्लो त्रैमासमा ५ प्रतिशत आर्थिक वृद्धि भए पनि व्यवसायीको मनोबल कमजोर रहेको सर्वेक्षणले देखाएको उनले जानकारी दिए ।
उनले देशभित्र मर्यादित रोजगारी सिर्जनाको आवश्यकता जोड्दै निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी दिएको र सरकारको समृद्धि लक्ष्यमा सहयोगी बन्न सक्ने बताए । दक्षिण कोरिया र बंगलादेशको उदाहरण दिँदै नेपालले पनि प्रगति गर्न सक्ने विश्वास व्यक्त गरे ।






प्रतिकृया