वीपीकाे शालिकमा कालोमोसो दल्नेलाई कारबाही गर्न कांग्रेसको जाेडदार माग
प्रकाशित मिति
२०८१ चैत्र २४ गते, आईतवार ०२:३०
चैत्र २४, २०८१ काठमाडौँ: शनिबार बाँकेको नेपालगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्दा वीपी कोइरालाको शालिकमा कालोमोसो दलिएको भन्दै संलग्नलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ।
राप्रपा नेपागन्ज नगर कमिटीको आह्वानमा पार्टीका महामन्त्री डा. धवलशमशेर राणालगायत नेताहरूको रिहाइका लागि प्रदर्शन भएको थियो। चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजसंस्थापक्षधरले गरेको प्रदर्शन विध्वंस मच्चाएको भन्दै प्रहरीले राणासहित पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्रमिश्रलगायतलाई पक्राउ गरेको छ।
उनीहरूको रिहाइका लागि राप्रपाले प्रदर्शन गरेको थियो। प्रदर्शनकाक्रममा नेपालगन्जको वीपी चोकमा रहेको वीपीको शालिकमा कालो मोसो दल्ने, कालो कपडाले शालिक ढाक्ने कार्य भएको भन्दै कांग्रेस बाँकेले आपत्ति प्रकट गरेको छ।
‘वीपी कोइरालाको शालिकमा कालो पोत्ने, कालो कपडाले ढाक्ने अमानवीय, असहिष्णु र असभ्य हर्कत देखाएकोप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ’, आइतबार विज्ञप्ति जारी गर्दै बाँके कांग्रेसले भनेको छ।
उक्त घटनामा संलग्न जोकोहीलाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि कांग्रेसको माग रहेकाे छ।
विज्ञप्ति







प्रतिकृया