दक्षिणी गाजामा १५ जना स्वास्थ्य कर्मचारीको हत्यामा गल्ति गरेकाे इजरायलद्वारा स्वीकार
प्रकाशित मिति
२०८१ चैत्र २४ गते, आईतवार ०२:१६
काठमाडौँ । इजरायली सेनाले मार्च २३ मा दक्षिणी गाजामा १५ जना आपतकालीन कर्मचारीको हत्यामा आफ्ना सैनिकहरूले गल्ती गरेको स्वीकार गरेको छ ।
त्यस दिन, प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीको एम्बुलेन्स, संयुक्त राष्ट्र संघको कार र गाजा सिभिल डिफेन्सको दमकल ट्रकको काफिलेमाथि रफाह नजिकै गोली चलाइएको थियो । इजरायलले एम्बुलेन्स अँध्यारोमा हेडलाइट वा चम्किलो बत्ती बिना ‘शंकास्पद रूपमा’ अगाडि बढिरहेकोले आफ्नो सेनाले गोली चलाएको दाबि गरेको थियो।

आक्रमणको समयमा मारिएका एक मेडिकल कर्मचारीले आफ्नो मोबाइलमा भिडियो बनाएका थिए । फुटेजमा घाइतेहरूको लागि मद्दतको लागि कराइरहेको बेला सवारी साधनहरूको बत्ती बालिएको देखिएको छ । इजरायल डिफेन्स फोर्सले यी मध्ये कम्तीमा छ जना स्वास्थ्यकर्मी हमाससँग सम्बन्धित रहेको बताएको छ । यद्यपि, इजरायलले अहिलेसम्म कुनै प्रमाण दिएको छैन ।

शनिबार साँझ पत्रकारहरूलाई जानकारी दिँदै एक इजरायल डिफेन्स फोर्स अधिकारीले सेनाले पहिले तीन हमास सदस्यहरू सवार कारमा गोली चलाएको बताए । जब एम्बुलेन्सहरू मद्दत गर्न आइपुगे, हवाई अनुगमनकर्ताहरूले जमिनमा रहेका सेनाहरूलाई ‘शंकास्पद तरिका’ गाडी आइरहेको भन्दै सतर्क गराएका थिए । जब एम्बुलेन्स हमासको कार नजिकै रोकियो, इजरायली सैनिकहरूले आफू खतरामा परेको ठाने र गोली चलाउन थाले । जबकि आपतकालीन टोलीका कुनै पनि सदस्य हतियारधारी थिए भन्ने कुनै प्रमाण थिएन । इजरायलले पहिले प्रदान गरेको जानकारी गलत भएको स्वीकार गरेको छ ।




प्रतिकृया