• २ असोज २०८३, शुक्रबार
  • ३ः४७ दिउँसो

रवि लामिछानेसँग रुपन्देहीमा बयान सुरु

प्रकाशित मिति

२०८१ कार्तिक २७ गते, मंगलवार ०१:३१

कार्तिक २७ , २०८१ बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन लागिएको हो ।

National Life

बयानका लागि लामिछानेलाई आ मंगलबार कास्कीबाट बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।

कास्की प्रहरीको हिरासतमै रहेको बेला प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट अनुमति लिएको थियो । सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो । २ करोडमध्ये संस्थाले लिने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

यसअघि सहकारी ठगी आरोपमा कास्कीमा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलाई रुपन्देही ल्याएर बयान लिई कास्की पठाइसकिएको छ । गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ । उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ । लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ ।

प्रतिकृया