• ६ असोज २०८३, मंगलबार
  • १२ः२८ दिउँसो

विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग

प्रकाशित मिति

२०८१ कार्तिक १३ गते, मंगलवार ०८:४२

कार्तिक १३ , २०८१ काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ । एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।

National Life

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ ।

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन् । दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् ।

यस खेलपछि नेपालले नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

लिग-२ को अंक तालिका

तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ । लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म खेलेका ९ खेलमा केवल एक खेल मात्र जितेको छ भने ७ खेलमा पराजित भएको छ । जबकी एक खेल अनिर्णित हुदा अंक बाँडेको थियो ।

अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानडा शिर्ष स्थानमा छ भने अमेरिका १० खेलमा १४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डस ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अंक हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै पाँचौ स्थानमा छ ।

त्यस्तै ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौं र नेपाल ९ खेलमा ३ अंक हासिल गर्दै सातौं स्थानमा छ । त्यस्तै युएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ ।

प्रतिकृया