रास्वपाका मन्त्रीहरूले तत्काल राजीनामा नदिने
प्रकाशित मिति
२०८१ असार २० गते, बिहीबार ११:१९
असार २०, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘राजीनामा बुझाउन गएका थियौँ । सम्माननीय प्रधानमन्त्रीले छलफल गर्नुपर्यो भन्नुभयो । कुरा गर्यौँ,’ उनले भने, ‘आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद्लाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं ।

आज बिहान राजीनामा पत्र बोकेरै मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

एमालेले बुधबार प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने एमालेका मन्त्रीहरूले राजीनामा पनि बुझाएका थिए । नेकपा एमाले र नेपाली काँग्रेसले नयाँ गठबन्धन बनाएर सरकार बनाउने सहमति गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।




प्रतिकृया