• २ असार २०८१, शनिबार
  • 2:42 am

टी-२० विश्वकपः पाकिस्तान विरुद्ध अमेरिकाको ऐतिहासिक जीत

प्रकाशित मिति

२५ जेष्ठ २०८१, शुक्रबार ०८:२९

जेठ २५, २०८१ काठमाडौँ: आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को समूह चरणमा गएराती सम्पन्न खेलमा पाकिस्तानलाई सह आयोजक अमेरिकाले सुपर ओभरमा हराएको छ ।

अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको हो। पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए।

१ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो। अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए।

अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए। ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए। त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे।

गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए। आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए। पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो।

कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ बनाए। स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन।

शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे। इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए।

अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो।

प्रतिकृया