• 11:01 am

भारतको दक्षिण अफ्रिकामाथि इतिहासकै फराकिलो जित

प्रकाशित मिति

२०८० मंसिर २९ गते, शुक्रबार १०:५८

मंसिर २९, २०८० काठमाडौँ: भारतले टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको फराकिलो जित निकालेको छ । जुन भारतले दक्षिण अफ्रिकामाथि निकालेको इतिहासकै सर्वाधिक फराकिलो जित हो । यसअघि भारतले राजकोटमा ८८ रनको जित निकालेको थियो ।

तीन खेलको टी-२० सिरिजको अन्तिम खेल जितेसँगै भारतले सिरिज १-१ को बराबरी गरेको छ। यसअघि पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेमला दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको थियो ।

जोहन्सबर्गको वान्डरस स्टेडियममा भारतले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको आयोजक दक्षिण अफ्रिका १३.५ ओभरमानै अलआउट हुँदै ९५ रनमा समेटियो । उसका लागि डेभिड मिलरको ३५ रन सर्वाधिक रह्यो । त्यस्तै कप्तान एइडन माक्रमले २५ रन बनाउँदा डोनोभन फेरेइराको १२ रन थप दोहोरो स्कोरका रुपमा रह्यो ।

भारतका लागि कुलदीप यादवले २.५ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिएका थिए। त्यस्तै रविन्द्र जडेजाले २ विकेट लिंदा मुकेश कुमार र अर्सदीप सिंहले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान सुर्यकुमार यादवले १०० रनको शतकीय इनिङ खेले । त्यस्तै ओपनर यश्शवी जैसवालले ६० रन बनाउँदा रिन्कु सिंह १४ रन बनाएर आउट भएका थिए। भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

अब यी दूई टिमबिच तीन खेलको एकदिवसीय सिरिज हुँदैछ। पहिलो खेल १७ डिसेम्बर मा जोहान्सबर्गमा हुनेछ ।

प्रतिकृया