• 8:49 am

हमासले गर्यो इजरायली र थाई नागरिक रिहा, युद्धविराम सकिन एक दिन मात्र बाँकी

प्रकाशित मिति

२०८० मंसिर १० गते, आईतवार १२:४९

मंसिर १०, २०८० एजेन्सी : गाजामा पक्राउ परेका थप १३ जना इजरायली बन्धक र ४ जना थाई नागरिकलाई हमासले रिहा गरेको छ । उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

गएराति हमासले सहमति भन्दा केही ढिलो गरी इजरायली र थाई गरी १७ जनालाई रिहा गरेको हो । त्यसअघि उसले सहमति अनुसार इजरायलले आफ्ना कैदी मुक्त नगरेको र गाजामा सहायता सामग्री नपुगेको आरोप लगाएको थियो ।

इजरायल–हमासबीच भएको युद्धविरामको पहिलो दिन अस्ति शुक्रवार १३ जना इजरायली, ३९ जना प्यालेस्टिनी, १० जना थाई नागरिक र एक जना फिलिपिनी नागरिकलाई रिहा गरिएको थियो ।

थाई र फिलिपिनी नागरिकलाई भने कतारको छुट्टै कुटनीतिक पहलमा हमासले रिहा गरेको हो । कतारको मध्यस्ततामा हमास र इजरायलबीच भएको सम्झौतामा चार दिन युद्धविराम गरिएको छ ।

युद्धविराम अवधिमा हमासले कम्तीमा ५० जना बन्दि रिहा गर्नेछ । इजरायलले एक बन्धक बराबर तीन जनाको दरले कैदीबन्दी रिहा गर्नेछ । जस अनुसार पछिल्लो पटक ३९ जना प्यालेस्टिनी पनि इजरायलका जेलबाट मुक्त भएका छन् ।

चारदिने युद्धविरामको आज तेस्रो दिन हो । हमासको कब्जामा अझै १९५ नागरिक रहेको अनुमान गरिएको छ । इजरायलले यो चार दिनमा १५० प्यालेस्टिनीलाई मुक्त गर्नुपर्नेछ ।

प्रतिकृया