वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै
प्रकाशित मिति
२०८० आश्विन १७ गते, बुधबार ०४:५६
असोज १७, २०८० काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ । महासङ्घले आज (बुधवार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो । कार्यक्रम आगामी असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोट्स ट्रेनिङ सेन्टरमा हुने बताइएको छ । वीर जङ्ग नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य थिए ।
‘आजीवन क्रान्तिका लागि तत्पर रहनुहुने एक क्रान्तिकारी योद्धा वीर जङ्गको स्मृतिमा हामीले यो प्रतियोगिता आयोजना गर्न गइरहेका छौँ,’– महासङ्घका महासचिव विनोद चन्दले भने । नयाँ प्रतिभाको खोजी एवं विकासमा जोड दिने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिताले खेलाडीहरूको वृद्धि विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन थप योगदान पुग्ने विश्वास महासङ्घले लिएको छ । उक्त प्रतियोगिताको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको बताइएको छ । प्रतियोगिता सफल बनाउन आ–आफ्नो ठाउँबाट साथ र सहयोगका लागि महासङ्घले आग्रह गरेको छ ।
कार्यक्रमका वक्ता अञ्जन साही ठकुरीले वीर जङ्ग स्मृति पुरुष भलिबल प्रतियोगिता नेपालको सर्वाधिक धनराशिको प्रतियोगिता भएको बताए । भलिबलको विकासका लागि यो प्रतियोगिताले एउटा इँटा थप्ने उनले विश्वास व्यक्त गरे ।
महासङ्घका अध्यक्ष जयनन्द चन्दले खेलाडीको व्यक्तिगत जीवनमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले पुरस्कार बढाएर राखेको बताए । प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्वितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासङ्घले जनाएको छ ।
साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाई कर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच-पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासङ्घले जनाएको छ । उक्त प्रतियोगिताको जम्मा पुरस्कार राशि नौ लाख ५० हजार रुपैयाँ रहेको छ ।





प्रतिकृया