• 7:42 am

नेपाल बैंककाे पाँच बर्ष सम्मका उपलब्धि के-के छन् ?

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार १२:०४

भदौ १२, २०८० काठमाडौँ : नेपाल बैंक वि.सं. २०७५ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म अर्थात ५ वर्षभित्रमा बैंकले विशेष उपलब्धि हासिल गरेको छ । सेयरधनीको धन अभिवृद्धि गर्दै निक्षेपकर्ताको तरलता हित संरक्षणमा केन्द्रीत बैंकले सेयरधनीको २३ वर्ष लामो प्रतिक्षालाई न्याय गर्दै पहिलोपटक २०७५/७६ देखि नगद लाभांश र बोनस सेयर वितरण थाल्यो ।


त्यसपछि भने लाभांश वितरणको क्रमले निरन्तरता पाइरहेको छ । आ.ब. २०७५/७६ का लागि बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(कुल २५ प्रतिशत), आ.ब. ०७६/७७ मा १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कुल १६ प्रतिशत), ०७७/७८ मा १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कुल १७ प्रतिशत), ०७८/७९ मा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(कुल १२ प्रतिशत) लाभांश वितरण गरेको छ। यसरी बैंकले ४ आर्थिक वर्षमा ४३ प्रतिशत बोनस सेयर र २७ प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरिसकेको छ ।


आर्थिक वर्ष २०७९–८० का लागि समेत बैंकले मन्दीको बाबजुद सन्तोषजनक लाभांश वितरण गर्ने अवस्था बनाएको छ ।

तोकिएको समयभित्र साधारणसभा

समयमै साधारणसभा सम्पन्न गर्ने हकमा नेपाल बैंकले आफूलाई अनुशासित बनाएको छ । उदाहरणका लागि आर्थिक वर्ष ०७४–७५ को साधारणसभा २०७६ बैशाख २२ गते मात्र सम्पन्न भएको थियो ।

तर, ०७५–७६ को साधारणसभा २०७६ पुस २५ गते सम्पन्न भयो भने आ.ब. २०७६–७७ को ०७७ पुस २९ गते, ०७७–७८ को २०७८ पुस २ गते तथा २०७८–७९ को २०७९ पुस २९ गते साधारणसभाहरु सम्पन्न भएका थिए ।

कर्जा तथा लगानी गुणस्तरमा पनि नेपाल बैंकले आफूलाई सुधार गरेको देखिन्छ । यहीकारण २०७८ बैशाखमा इक्रा नेपालले बैंकलाई ‘ए’ रेटिङ दिएको छ । यसले नेपाल बैंक लगानी तथा निक्षेपको कोणबाट सुरक्षित रहेको देखाउँछ ।


मुख्य वित्तीय सूचक कस्ता थिए, कस्ता भए ?

बैंककाे सेयर क्यापिटल, रिजर्भ र सरप्लस, कुल सम्पत्ति, निक्षेप, कर्जा, नाफा लगायतका सूचकमा लगातार प्रगति भएको देखिन्छ । त्यति मात्र भइ, कर्मचारी संख्यामा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ ।


राज्यकोषमा उस्तै सपोर्ट
पछिल्लो ५ वर्षमा नेपाल बैंकले आफूले विजिनेश गरेर सेयरधनीलाई रिटर्न, रोजगारीको अवसर सिर्जना र राज्यकोषमा आफ्नो योगदान समेत लगातार बढायकाे देखिन्न छ।

आर्थिक वर्ष २०७४–७५ मा १ अर्ब ४१ करोड बढी कर तथा राजश्व सरकारी ढुकुटीमा जम्मा गरेको यो बैंकले आ.ब. २०७८–७९ मा २ अर्ब ६८ करोड बढीको योगदान गरेको छ ।


बैंककाे नेटवर्थ

बैंकका सेयरधनीले लगानी गरेको नाफा कमाई वितरण नगरिएको नियामक निकायले तोकेको तथा स्वतन्त्र रुपमा सिर्जना गरिएको कोषसहितको रकमलाई नेटवर्थ भनिन्छ ।

यो पाँचवर्षको अवधिमा बैंकको नेटवर्थ निकै राम्रो भएको छ । उदाहरणका लागि आ.ब. २०७४–७५ मा बैंकको खूद धन २२ अर्ब ९७ करोड थियो । २०७८–७९ मा बढेर ३५ अर्ब ४६ करोडको उचाईमा पुगेको छ ।


आधुनिक बैंकिङ कस्ताे छ ?

सरकारी बैंक भन्ने बित्तिकै पुरानो ढाँचामा चलेका बैंक भनेर बुझने गरिन्छ तर नेपाल बैंकको हकमा भने आधुनिक बैंकिङ निकै मजबुत बनेको देखिन्छ ।

जस्तो २०७५ असार अन्तिमसम्म नेपाल बैंकमा १ लाख ३१ हजार ५९० मोवाइल बैंकिङ प्रयोगकर्ता थिए, २०८० असार अन्तिमसम्म त्यो संख्या बढेर ७ लाख २६ हजार १५१ पुगेको छ ।

इ–बैंकिङ प्रयोगकर्ता पनि बढेर १५ हजार ८६४ पुगेका छन् भने, अनलाइनबाट खाता खोल्नेको संख्या ७ हजार ९३२, क्यूआर मर्चेन्टको संख्या ८ हजार ९८६ बाट बढेर तीन वर्षमै २३ हजार ९३८ पुगेको छ ।

डिम्याट खाता खोल्नेको संख्या तीन वर्षअघिको ५३ हजारबाट बढेर अहिले ८७ हजार माथि पुगेको छ ।


वित्तीय पहुँच
वित्तीय पहुँच विस्तारमा पनि बैंकले उल्लेख्य काम गरेको देखिन्छ । जस्तो २०७५ असारसम्म बैंकको शाखा संख्या १३९ रहेकोमा अहिले बढेर २२८ वटा पुगेको छ ।

विस्तारित काउण्टर २०७५ मा ९ रहेकोमा अहिले बढेर ५४, एटीएमको संख्या ५६ बाट २०३ पुर्याएको नेपाल बैंक हाल ७१ वटा जिल्लामा बिस्तार भइसकेको छ ।

प्रतिकृया