• 8:17 am

चोरीको मोटरसाइकल सहित एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०८० असार ५ गते, मंगलवार ११:००

५ असार २०८०, काठमाडौँ: चोरीको मोटरसाइकल सहित काठमाडौँको टोखा नगरपालिका ९ मनमैजुबाट एक जनालाई सोमबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको करैयामाई गाउँपालिका ५ घर भई हाल काठमाडौँको नवजागरणटोल बस्दै आएका ३० वर्षीय रामकिशोर सहनीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।


काठमाडौँको तार्केश्‍वर नगरपालिका २ बस्ने गजेन्द्र लामा तामाङले गत बैशाख २६ गते ललितपुरको पाटन अस्पताल अगाडीको पार्किङ स्थलबाट बागमती प्रदेश-०२-०४० प १८२६ नम्बरको २ सय २० सि.सि.को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२-०२२ प ३३४७ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायताईकाइबाट खटिएको टोलीले सहनीलाई मोटरसाइकल सहित फेला पारी मनमैजुबाट आज दिउँसो नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा आएका सहनीलाई थप अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाईएको छ । सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई
अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताउनु भयो ।


सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रतिकृया