• ११ असोज २०८३, आइतबार
  • १२ः१२ दिउँसो

जलस्रोत तथा सिंचाई बिभागका तत्कालीन महानिर्देशक भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२०८० असार ५ गते, मंगलवार ०८:४१

५ असार २०८०, काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

National Life

अख्तियारले राजभण्डारीविरुद्ध सोमबार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बिगो, त्यत्ति नै जरिवाना, स्रोत नखुलेको रकमबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत र कैद सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि राजभण्डारीकी श्रीमती दीपा श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।


अख्तियारले करिब २८ वर्ष सरकारी सेवामा रहेका राजभण्डारीको २०५१ फागुन देखि २०७९ भदौ मसान्तसम्मको चलअचल सम्पत्ति अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ७ करोड ७२ लाख २९ हजार ८६ रुपैयाँ ६५ पैसा बराबरको आर्थिक कारोबार गरेको र त्यसमध्ये ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेपछि त्यसलाई नै बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

बिगो कायम गरिएको घरजग्गाको मूल्य मालपोतमा उल्लेख गरिएको न्यून मूल्यांकन अनुसार भएकोले यसको अहिलेको बजार मूल्य करोडौं रुपैयाँ बराबर हुन आउने अनुसन्धानमा संलग्न अख्तियार स्रोतको भनाइ छ । भ्रष्टाचारबाट आर्जित सम्पत्ति राजभण्डारीले घरजग्गा खरिद, घर निर्माण, विभिन्न कम्पनीमा लगानी, बीमा प्रिमियममा भुक्तानीमा लगानी गरेको देखिएको छ ।

प्रतिकृया