क्रिकेट विश्वकप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

प्रकाशित मिति

२०८० जेष्ठ ९ गते, मंगलवार ०५:०७

348585357 1286486995587549 1986705870709631136 n e1684840954769

९ जेठ २०८०, काठमाडौँ : आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।


५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । समूहको शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ । सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् ।


नेपाल टिमले विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा १० दिने प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ । नेपाल टिम जेठ १७ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ भने २७ जेठमा उतैबाट जिम्बावे जानेछ ।


प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ । नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका तय भएको छ । विश्वकप छनोटको समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।


समूह बी तुलनात्मक रुपमा सहज देखिन्छ । किनभने आईसीसीको वर्गीकरण अनुसार उपल्लो प्रतियोगिता सुपर लिग खेलेका दुई टिममात्र यो समूहमा छन् । श्रीलंका र आयरल्याण्ड सुपर लिगबाट आएका हुन् भने लिग टूको उपाधि विजेता स्कटल्याण्ड र उपविजेता ओमानले यो समूहबाट खेल्नेछन् ।


२ चैतमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूमा शीर्ष तीनमा रहेर नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको हो । लिग टूमा नेपालभन्दा माथि रहेका ओमान र यूएई भने समूह बीमा परेका छन् । आईसीसी सुपर लिगमा शीर्ष ८ मा परेका टिम भारतमा अक्टोबर–नोभेम्बरमा हुने विश्वकपका लागि सिधा छनोट भएका थिए ।


पुछारका पाँच टिम, लिग टूका शीर्ष ३ तथा विश्वकप छनोट प्लेअफबाट आएका २ टिम गरी १० टिमले विश्वकप छनोट खेल्न लागेका हुन् ।


नेपाल रहेको समूह ए मा सुपर लिगमा अन्तिम पाँचभित्र परेका वेष्ट इण्डिज, जिम्म्बावे र नेदरल्याण्ड्स छन् । अमेरिका प्लेअफबाट छानिएको टिम हो । लिग टूमा शीर्ष तीनमा पर्न नसकेका चार टिमले अघिल्लो महिना नामिवियामा क्यानडा र जर्सीसमेत सम्मिलित प्लेअफ क्वालिफायर खेलेका थिए ।


यसै सँगै नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।
जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो । टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् ।

प्रतिकृया