• १७:२० २०८० चैत्र १५ गते
  • 5:20 pm

एसीसी प्रिमिअर कपकाे नेपाल च्याम्पियन, युएईलाई ७ विकेटले पराजित गर्दै एसिया कपमा छनोट

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार ११:४९

343590382 236355629077702 3597141709502459099 n

वैशाख १९, २०८०, काठमाडौँ: नेपाली क्रिकेट टोलीले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। यससँगै नेपाली टोली भारत र पाकिस्तानसमेत खेल्ने एसिया कपका लागि छनोट भएको छ। मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भयो ।


प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान रहेको थियो । नेपालले पहिलो पटक एसिया कप खेल्ने छ । पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने तालिका छ ।


गुलशन झा र भीम सार्कीले अविजित अर्धशतकीय साझेदारी गरेपछि यूएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गर्‍यो । झा र सार्कीले ९६ रनको साझेदारी गरेका थिए । गुलशनले ८४ बलमा ६७ रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । भीमले ७२ बल खेली ३६ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।


गुलशनले दोस्रो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पुरा गरेका हुन् । डेढ महिनाअघि विश्व क्रिकेट लिग २ को अन्तिम खेलमा उनले यूएईविरुद्ध नै अविजित ५० रन बनाएका थिए ।


नेपालको सुरुआत राम्रो थिएन । ८ ओभरमा नेपालले २२ रनमात्र बनाउँदा ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल १ रनमा आउट भए । उनलाई रोहन मुस्ताफाले एलबीडब्लु आउट गरे । आसिफ शेख पनि एलबीडब्लु आउट भए । उनलाई आयन खानले ८ रनमा आउटगरे ।


कप्तान रोहित पौडेल १ रनमात्र बनाई रोहन मुस्ताफाको बलमा बोल्ड भएपछि निकै दबाबमा परेको नेपाललाई गुलशन र भीम मिलेर उकासेका थिए । यूएईबाट मुस्ताफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए ।


वर्षाका कारण सोमबार स्थगित खेलले मंगलबार पनि निरन्तरता पाउदा यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो ।


त्यही स्कोरबाट मंगलबार खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो । अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए ।


उनै सिद्धिकीले ललितको बलमा एउटा छक्का पनि प्रहार गरे । ललितले नै सिद्धिकीलाई १० रनमा लङ अनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे । ललितले ७ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे ।

प्रतिकृया