• १४ असोज २०८३, बुधबार
  • १०ः३७ बिहान

पृथ्वीबहादुर शाहसहित ६ जनालाई थुनामा पठाउन आदेश, १३ जना भने अझै फरार

प्रकाशित मिति

२०७९ फाल्गुन ३० गते, मंगलवार ०३:२१

३० फागुन, २०७९, काठमाडौँ: अमेरिकाबाट अवैध ४० करोड रुपैयाँ भित्र्याउन लागिपरेका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत, काठमाडौँले शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि सोमबार पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन्।

National Life

प्रकरणमा संलग्न १३ जना भने अझै फरार छन्। फरार रहनेमा अछामका देवेन्द्र ढुंगाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दार, काठमाडौँका सानु ठकुरी, अविन परियार, राजुकमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्रबहादुर शाह रहेका छन्।


केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई भने ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकी नागरिक ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। पृथ्वीबहादुर शाहले ठगी गर्नकै लागि २४ वटा भन्दा धेरै कम्पनी खोलेको पाइएको, शाह र उनको समूहमा रहेका १९ जनाविरुद्ध चार वटा मुद्दा चलाउनुपर्नेलगायतसहितको प्रतिवेदन सिआईबीले बुझाइसकेको थियो।


प्रतिवेदनअनुसार रिमोट एक्सेसबाट पीडितहरुको डिभाइसमार्फत बैंक एकाउण्टमा पहुँच पुर्‍याउने र मौज्दात रकम नेपाल र थाइल्याण्डमा पठाउने गरेको पाइएको हो। शाहले क्यान्सर, अल्जाइमर रोग पीडित र जेष्ठ नागरिकलाई टार्गेट गरी ठगी गर्ने र पीडितलाई सम्पत्ति शुद्धीकरण विभागले कारबाही गर्छ र कानुनी उल्झनमा परिन्छ भनि कानुनी प्रक्रियामा नजान धम्की दिने गरेका थिए।


पीडितलाई सम्पर्क गर्दा भारतको वेस्ट बंगालबाट गर्ने गरेको तर नम्बर भने अमेरिकन नै देखिने गरेको सीआईबीले फेला पारेको छ। अहिलेसम्म उनीबाट पीडित ५६ जना रहेको खुले पनि २४ जनाले मात्रै जाहेरी दिएका छन्। उनले यसरी आर्जन गरेको रकमबाट काठमाडौँमा जग्गा खरिद गरेको भेटिएको छ। कीर्ते विवरणसहित दर्ता भएको उक्त कम्पनी विभिन्न व्यक्ति हुँदै हाल अनुप खड्काको नाममा संचालन रहेको पाइएको छ। तर आर्थिक कारोबार भने पृथ्वीबहादुर शाहले नै गरिरहेका छन्।


अमेरिकी नागरिक ठगिएको उजुरी नेपालस्थित अमेरिकी राजदूतावासले नै जानकारी गराएपछि पृथ्वीबहादुर शाहसहितका ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। अनुसन्धानमा उनीहरूले ठगीबाट आर्जन गरेको सम्पत्ति घर, जग्गालगायत कारोबारमा लगानी गरेको पनि खुल्न आएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए। साथै शाहको २० करोड ४१ लाख नेपाली रुपैयाँ बैंकहरुले रोक्का गरेका छन् ।


मंगलबारको विनिमय दरअनुसार ग्लोबल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबिसहितका बैंकमा रहेको उनको खातामा २० करोड ४१ लाख ५८ हजार ११६.४१ नेपाली रुपैयाँ होल्ड गरिएको छ।

प्रतिकृया